नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय लङ्गडी, पर्साले यहि फागुन २५ गते आइतबार एक दिने 'केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम' भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा लङ्गडी शाखाका केन्द्र प्रमुखहरू, कर्मचारीहरू, जनप्रतिनिधि, प्रहरी, पत्रकार, अभिभावकहरू तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व केन्द्र नं. ७६ की केन्द्र प्रमुख कान्तिमाया देवी गिरिले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा धोविनी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अब्बास मिया चुरीहार रहनुभएको थियो। साथै, कार्यक्रममा अतिथिहरूमा विरगन्ज स्थित सौर्य अनलाइन खबरका पत्रकार राजन कुमार वानिया, कलैया क्लस्टर प्रमुख किरण बिष्ट, प्रहरी चौकी लङ्गडीका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक ज्योति प्रकाश कार्की, डोकैला शाखाका प्रमुख सुजन छेत्री तथा सुवर्णपुर शाखाका प्रमुख जयमगल साह सहभागी थिए। कार्यक्रमको सुरुवात प्रभातफेरीबाट गरिएको थियो, जसमा करिब ८० जना सहभागीहरूले विभिन्न वित्तीय साक्षरता सम्बन्धी पम्प्लेट हातमा लिई तथा वित्तीय साक्षरताका नारा लगाउँदै लङ्गडी बजार परिक्रमा गरेका थिए। कार्यक्रमको सञ्चालन कलैया अनुगमन कार्यालयका सहायक कर्मचारी महोम्मद मक्सुद अन्सारीले गरेका थिए भने लङ्गडी शाखा कार्यालयका प्रमुख फनिन्द्र कुमार शाहले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। कार्यक्रममा कलैया क्लस्टर प्रमुख किरण बिष्टले संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए भने कर्मचारी महोम्मद मक्सुद अन्सारीले केन्द्र प्रमुखको भूमिका, कर्तव्य र अधिकारबारे जानकारी गराएका थिए। त्यस्तै, कर्मचारी प्रकाश चन्द्र चौधरी र रितेस प्रसाद चौहानले संस्थाको सेवा सुविधा तथा ग्राहक संरक्षण कोषबारे सहभागीहरूलाई जानकारी गराएका थिए। शाखा प्रमुख फनिन्द्र कुमार शाहले वित्तीय साक्षरताको महत्त्वबारे प्रस्तुतीकरण गर्दै सहभागीहरूसँग अन्तरक्रिया तथा गुनासो सङ्कलन गरेका थिए। कार्यक्रमको अन्त्यमा उत्कृष्ट केन्द्र तथा सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।