कञ्चनपुर, १९ भदौ । काभ्रेपलाञ्चोकको बनेपा स्थित केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कञ्चनपुर स्थित शाखा कार्यालय आईविआरडीले आश्रित परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । उक्त शाखा अन्तर्गतको केन्द्र नं. ३५ उज्यालो मिर्मिरे महिला समूहमा आबद्ध सदस्य नयाँ कुमारी तामाङको केही समयअघि असामयिक निधन भए पश्चात् कर्जाको जीवन बीमा बापत निजको छोरा आशिष तामाङलाई बिमाङ्क तथा काज किरिया खर्च रकम बापत ३ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । संस्थाले सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सदस्यको जीवन बीमा सहकार्य गरेकोमा उक्त दाबी रकम पुनर्वास न.पा ०३ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङको रोहवरमा चेकमार्फत आश्रित परिवारलाई हस्तान्तरण गरिएको शाखा प्रमुख खगेन्द्र भट्टले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा उक्त संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख भीम बहादुर साउद, अत्तरिया क्लष्टर प्रमुख मनोज कुमार ओली, शाखा प्रमुख खगेन्द्र भट्ट सहित सोही शाखाका कर्मचारीहरू गमन कडायत र शान्ति माया तामाङ तथा केन्द्र नं. ३५ का सदस्यहरूको समेत उपस्थिति रहेको थियो । दाबी भुक्तानी हस्तान्तरण गर्ने क्रममा वडाध्यक्ष कृष्ण बहादुर तामाङले यस्ता किसिमका सुविधाले ऋणी परिवारजनलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै संस्थाका सदस्यहरु र उनीहरूको परिवारलाई आर्थिक भार कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । नेपाल राष्ट्र बैंकद्वारा 'घ' वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाका रूपमा क्रियाशील नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६६ जिल्लामा २२५ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ ।